
काठमान्डौ – २००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मनुभएका अधिकारी १८ वर्षकै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा होमिनु भएको हो । प्रवेशिका परीक्षापछि २०२५ बाट ढिकुरपोखरीको पाउँदुरको स्थानीय विद्यालयमा अध्यापनको काम थाल्नुभयो ।
विद्यालयमा पढाउँदै राजनीतिमा सक्रिय हुन सुरु गर्नुभएका अधिकारी सहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । त्यसबेला पार्टीले अधिकारीलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो । क्याम्पसमा ०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतिशील विद्यार्थीको तर्फबाट स्ववियू सभापतिमा होमिनुभयो र जित पनि हासिल गर्नुभयाे । २०२८ साल जेठमा उहाँ एक महिना जेल पर्नुभयो ।

स्ववियू सभापतिकाे कार्यकाल सकिएपछि २०३० मा उहाँ पुनः शिक्षण पेशामै फर्कनुभयो । शिक्षण पेशामै रहे पनि राजनीतिमा सक्रिय रहँदा २०३१ मा पुनः गिरफ्तार हुनुभयो । अधिकारीलाई घरबाटै सशस्त्र हतियारधारी प्रहरीले घेरा हाली गिरफ्तार गरेका थिए । गिरफ्तारको ९ दिनमै उहाँलाई जोमसोम कारागार चलान गरियो । त्यसको ९ महिनापछि उहाँ २०३४ मा नख्खु कारागार चलान हुनुभयो । जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उहाँ फेरि राजनीतिमै सक्रिय हुनुभयो ।
२०३६ सालमा उहाँ दोस्रो पटक पीएन क्याम्पसमा सभापति चुनिनुभयो । तत्कालीन मालेको राजनीतिमा सक्रिय प्यासी मार्क्सवादीसँगको एकीकरणपछि नगर कमिटी सचिव हुँदै जिल्ला कमिटी उपसचिव बन्नुभयो । २०४३ मा राष्ट्रिय पञ्चायतको चुनावमा मालेको तर्फबाट उहाँ पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्यमा चुनिनुभयो । त्यसबेला देशभरिमा मालेका जम्मा पाँचजना निर्वाचित भएका थिए ।
राष्ट्रिय पञ्चायत संसदमा नै अधिकारीले बहुदलीय व्यवस्था र जनसंविधानसभाको माग गरेपछि १५ दिन पदबाट निलम्बन गरिएको थियो । बहुदलीय व्यवस्था स्थापनापछि उहाँ तीन कार्यकाल १२ वर्षसम्म कास्कीको पार्टी सचिव हुनुभयो । २०४८ सालको आम चुनावमा कास्की–३ मा सांसद बन्नुभयो । ०५१ को मध्यावधि र ०५६ को आम चुनावमा उम्मेदवार भए पनि जित भने हात पार्न सक्नुभएन । पार्टीमा भने उहाँ आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारी कास्की २ मा हुन लागेको आसन्न उपचुनावको आकांक्षी उम्मेदवारसमेत हुनुहुन्थ्यो । तर, नेकपाले दिवंगत रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।