
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टाेलीका वरिष्ठ सुरक्षा अधिकारी नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनालाई बुझाएकाे छ ।
जुवा खेलिरहेका बेला शुक्रबार बेलुकी काठमाण्डाैको टोखा नगरपालिका १० बाट पक्राउ परेका मेजर शाहीलाई थप कारबाहीका लागि सैनिक प्रहरीको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

कर्तव्य ज्यान, लागू औषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अरु अभियोग लागेका सैनिकलाई सेनाले नै छानबिन र कारबाही गर्ने कानुनी व्यवस्था भएकाले शाहीलाई सैनिक प्रहरीको जिम्मा लगाइएको र अरुलाई भने हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रहरीले टोखा नगरपालिका १० मा सोमबहादुर दर्लामी मगरको घरमा जुवा खेलिरहेका बेला मेजर शाहीसहित घरधनी मगर, जीत गुरुङ, निराजन राणा, बुद्धिलाल मगर, किरणजंग शाह, धर्मराज शाह र काजी गुरुङलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ ।