काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सुरु भएको छठ पूजा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा आराधनापछि अर्घ्य दिइन्छ । छठ पर्वका अवसरमा देशैभरिका पोखरी, ताल र नदीमा श्रद्धालुको उपस्थिति हुने गरेको छ ।