छठ पर्वको मुख्य दिन आज सूर्यलाई अघ्र्य दिइँदै

२०७६ कार्तिक १६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।उक्त समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन अनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।छठ पर्वका लागि काठमाडौंका गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम छ ।छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि, सद्भाव र एकताका साथै प्रगतिको कामना गरेकी छन् ।छठका अवसरमा आज दिनुभएको सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता बलियो बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेछ भने विस्वास व्यक्त गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरणसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार