आलमले घाइतेलाई इँटाभट्टामा जलाएको प्रहरी निष्कर्ष, बाँचुञ्जेल जेल हाल्नु पर्ने राय

२०७६ कार्तिक १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रौतहट- विष्फोटका घाइतेलाई इँटाभट्टामा ज्यूँदै जलाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलममाथिकाे अनुसन्धान प्रहरीले पूरा गरेको छ ।

आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको निष्कर्षसहितको प्रतिवेदन तयार गर्दै अनुसन्धान सकेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर–४ मा बम बिष्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको पुष्टि भएको छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आजै रौतहटको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाई सकेको जानकारी दिएका छन् । रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम बिष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहमद समेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको उनले बताएका छन् ।

दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहमदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार भण्डारण गरी बिष्फोट गराएको भन्दै आलमलाई मुद्दा चलाउनु पर्ने प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा पेश गर्न लागेको डिएसपी कार्कीले बताएका छन् ।

रौतहटका सरकारी प्रमुख सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित १० जनाविरूद्ध मुद्दा चलाउने रायसहितको प्रहरीको प्रतिवेदन आफूहरूले बुझेको उनले जानकारी गराए ।
आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनु पर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ ।

त्यतिबेला मुलुकी ऐन लागू हुन्थ्यो उक्त ऐनमा मान्छेको मारेको अभियोग पुिष्ट भए सबैभन्दा धेरै सजाय सर्वस्व जन्मकैद हुने व्यवस्था थियो । त्यस्तै २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताअनुसार यातना दिएर मारेकोमा आलमलाई आजन्म कैद हुनुपर्ने माग पनि प्रतिवेदनमा गरिएको डिएसपी कार्कीले बताएका छन् ।

‘कुन कानुनअनुसार कारबाही गर्ने अदालतको कुरा हो । हामीले दुबै कानुनअनुसार हदैसम्मको सजाय माग गरेका छौं,’ कार्कीले भने । जन्मकैद सजाय पाए आलम २० वर्ष जेल बस्नु पर्नेछ । आजन्म कैद भए उनी बाँचुञ्जेल जेलमा बस्नु पर्ने हुन्छ ।

प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउने–नचलाउने निर्णय गर्नेछ। प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउने–नचलाउने निर्णय गरिने जानकारी दिएका छन् ।

१२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगेको थियो । १२ वर्षअघिको उक्त प्रहरी प्रतिवेदनको घटनास्थल मुचुल्कामा बम बिष्फोट नभएको उल्लेख थियो। घटनाको धेरै दिनपछिमात्र अनुसन्धान थालिएको थियो। तर त्यतिखेर बम बिष्फोट भइ अख्तर र पिन्टु घाइते भएको देख्ने प्रत्यक्षदर्शी सराजुल मियाँले कागज गरेका थिए ।

अख्तरका आमा रूक्साना खातुन र पिन्टुका वुबा श्रीनारायण सिंहले दिएको जाहेरी र मियाँले गरेको कागजका आधारमा त्यतिबेलै प्रहरीले आलमलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुनु पर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।

सरकारी वकिल कार्यालय रौतहटले भने मुद्दा नचल्ने निर्णय गरेको थियो। जसलाई तत्कालीन महान्यायाधिवक्ताले सदर गरेका थिए । त्यतिखेर प्रहरीले बुझाएको प्रतिवेदनलाई पनि अहिलेको अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको प्रहरी स्रोतले बताएको छ ।

अहिले पहिलेको भन्दा बलिया प्रमाणहरू सहित प्रतिवेदन तयार पारिएको पनि प्रहरीले जनाएको छ । यतिबेला सबैभन्दा ठूलो प्रमाण वम विष्फोटमा परी घाइते भएका सफि अहमद हुन् । उनले आफू वम बनाउँदा बनाउँदै घाइते भएको र ज्यान बचाउन भागेको बयान प्रहरीलाई दिएको स्रोतले बताएको छ ।

विष्फोटमा परी उनको छाती र पेटमा चोट लागेको थियो । त्यसपछि उनी भारतको एक अस्पतालमा उपचार गराएका थिए । वमको छर्राले उनको पेट र छातीमा घाउचोट लागेको रिपोर्टपनि प्रहरीले उक्त अस्पतालबाट ल्याएको छ । त्यतिखेरका प्रहरी अधिकारीहरूसँग पनि अहिले सोधपुछ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार