
पोखरा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एक सहकारीको नाममा रहेको साढे ३७ रोपनी जग्गा किसानलाई फिर्ता गर्न भन्दै पार्टीको झण्डा गाडेको छ । किसानको जग्गा सहकारीले कब्जा गरेको भन्दै नेकपाले किसानलाई जग्गा फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिना सूचना स्थानीय किसानहरुको जमिन सहकारीको नाममा पास गरेको नेकपाले जनाएको छ ।

झण्डासँगै छोडिएको पर्चामा उक्त जमिन खरिद बिक्री वा वितरण गरेमा कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ । पर्चामा नेपाल सहकारीका सञ्चालकद्वय उत्तम र नविनले किसानहरुको जग्गा फिर्ता नगरी नक्कली दलाल खडा गरी तेस्रो व्यक्तिलाई जग्गा दिने काम सुरु गरेको भन्दै जग्गा किनबेच गरिए कारबाही गर्ने उल्लेख छ ।
२०५७ सालमा स्थानीय किसानहरु देवी रमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलराम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए ।
पीडित पराजुलीले गाईपालनका लागि ऋण लिएको बताए । उनले किस्ता बुझाउने क्रममा सहकारीकै सेयर सदस्यहरुबीच विवाद उत्पन्न भएपछि पोखराबाट सहकारी काठमाडौं सारिएको थियो । त्यसपछि सहकारीको ठेगाना थाहा नपाउँदा किस्ता बुझाउन नपाएको जनाए । ऋणको आधा सावा र ब्याज बुझाईसकेको उनले बताए ।
१० वर्षपछि काठमाडौंमा उनीहरुले सहकारी भेटेका थिए । एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाको नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमति उनीहरुबीच भएको थियो । पीडित देवी रमण चापागाईले भने, ‘जे भएपनि हामीले जग्गा पाउछौं भन्ने सोचेर २५ लाख बुझाउन गयौं तर संस्थाले चलखेल गरेर जमिन अरुलाई नै बेच्न थाल्यो ।’