प्रधानमन्त्री ओलीलाई एक्ल्याएर दाहाल–नेपाल–खनाल–गौतम एकातिर !

२०७६ कार्तिक १०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक पार्टी समीकरणमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बलियो बन्दै गएका छन् । नेकपाका नेताहरुले पछिल्लो समय अर्का अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्दै दाहाललाई समर्थन गर्न थालेपछि ओली कमजोर र प्रचण्ड बलियो बन्दै गएका हुन् ।

यसरी ओली एक्लिनुमा उनकै कार्यशैली र प्रचण्डसँग यसअघि गरिएका सम्झौता तथा समझदारीबारे केही पनि विषयले आवश्यक गति नलिनु हो भन्ने ठम्याइ नेकपाका नेताहरुले गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण लगत्तै बाहिर बलियो र लोकप्रिय बन्दै गरेका ओलीलाई एक्ल्याउँदा आफूहरुलाई सहज हुने यी नेताहरुको निष्कर्ष छ । त्यसैले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पर्क माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनालसँग बढाएका छन् ।

यसको मुख्य कारण भनेको ओली–दाहालबीच सुरु भएको खटपट हो |

‘ओली र दाहालबीच असमझदारी बढेको मात्र होइन, यो अप्टिमम लेभलमा पुगिसकेको छ,’ दाहालनिकट स्थायी समिति सदस्यसमेत रहेका एक नेताले भने, ‘उहाँहरुबीच यस विषयमा छलफल हुन पाएको छैन ।’ उनले यही कारणले पनि यस विषयमा प्रचण्डले नेपाल र खनालसँग छलफल गर्न सुरु गरेको बताए ।

त्यसो त गत सोमबार मात्र ओली र दाहालबीच बालुवाटारमा दुई पटक भेटवार्ता भएको थियो । तर, स्रोतका अनुसार यी भेटवार्तामा दुई अध्यक्षबीच कुनै निष्कर्ष निस्कन सकेन । ‘ओली पछिल्लो समय पहिले गरेका सम्झौताहरुबाट पछाडि हट्न खोजिरहेका छन्,’ ती नेताले भने, ‘त्यसैले पार्टीलाई सुदृढीकरण गर्दै लैजान पनि प्रचण्डले आफ्नो सक्रियता बढाएका हुन् ।’

त्यसो त केही महिनायता प्रचण्डले सार्वजनिक रुपमा पनि आफ्ना असन्तुष्टि राख्न थालेका छन् । उनले सबैभन्दा पहिले नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा आफ्ना असन्तुष्टि सार्वजनिक रुपमा पोखेका थिए । त्यति बेला उनले राजनीतिमा कुनै पनि कुरा निश्चित नहुने र आफू कहिले के हुने भन्ने कुरा अरु नै विषयले निर्धारण गर्ने बताएका थिए ।

अर्कोतिर, ओलीले पार्टीमा स्थायी कमिटि बैठक र केन्द्रीय समिति बैठक बोलाउन आलटाल गरिरहेको प्रचण्डले महसुस गरेका छन् । त्यसैले उनीहरुबीच भएका वार्तामा प्रचण्डले यस विषयमा बारम्बार प्रश्न उठाउँदै आएका छन् । तर, प्रचण्डले उठाएका विषयमा ओलीले खासै वास्ता गरेका छैनन् ।

फलस्वरुपः प्रचण्ड माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमसँग नजिकिन पुगेका छन् ।

यसको अर्को कारण भनेको निवर्तमान सभामुख महराविरुद्ध लागेको यौन दुव्र्यवहारको आरोप पनि हो । महराले यो आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिइसकेका छन् । अब अर्को सभामुख को बनाउने भन्ने विषयमा पनि प्रचण्ड र ओलीबीच मतभेद देखिन थालेको छ ।

यही मतभेदलाई फाइदा उठाएका छन्, माधवकुमार नेपालले

नेपालको बुझाइ पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई पेलिरहेको छ । त्यसैले उनी प्रचण्डसँग नजिक भएर ओलीलाई एक्ल्याउन चाहन्छन् । अर्का नेता झलनाथ खनाल पनि ओलीले बारम्बार आफूमाथि अन्याय गरेको निष्कर्षमा पुगेका छन् । यसअघिको उनको वरियता क्रम पार्टीमा सच्याइएको छ तर पनि आफू ओझेल पर्न लागेको र यसले आफूलाई थप समस्या निम्त्याउने खनालको बुझाइ छ । त्यसैले उनी प्रचण्डसँग निकट भएर अगाडि बढ्न चाहन्छन् ।

नेकपाका अर्का नेता वामदेव गौतम पनि ओलीले आफूमाथि खासै वास्ता नगरेको निष्कर्षमा पुगेका छन् । ‘उहाँलाई ओलीले बारम्बार आफ्नो हुर्मत लिएको महसुस भएको छ,’ गौतमनिकट एक नेताले बताए, ‘पछिल्लो समय कास्की दुई वामदेव उपनिर्वाचनमा उठ्ने भन्ने हल्ला पनि बढी ओली समूहबाट नै गरियो । यसले वामदेवको छविलाई धुमिल बनाउँदै लगेको छ ।’

अर्कोतिर यी नेताहरुलाई कमजोर बनाएर पार्टी र सत्तामा आफ्नो होल्ड बनाइरहन चाहन्छन्, ओली । त्यसैले उनले पछिल्ला दिनमा प्रचण्डका कुराहरु सुन्न छाडेका छन् ।

प्रचण्डको पहिलो डिमान्ड– कार्यवाहक अध्यक्ष आफूलाई दिइओस्

प्रचण्ड र माधवकुमार नेपाल दुवैको बुझाइ छ, ओलीले आफूहरुलाई पेल्ने रणनीति लिएका छन् । प्रधानमन्त्री ओलीले यही सन्देश उनीनिकट मन्त्रीहरुलाई समेत दिएको यी दुई नेताले महसुस गरेका छन् । त्यसैले दुवै जना ओलीको रणनीतिलाई निस्तेज पार्न र ओलीविरुद्ध एकजुट भएर लाग्न तयार भएका हुन् ।

‘उहाँहरु नजिकिनु भएकाले पार्टीमा अब नयाँ समीकरण बनिसकेको छ,’ नेपाल निकट एक नेताले भने, ‘यो समयले नै जन्माएको समीकरण हो, यसलाई गलत अर्थमा मात्र पनि बुझ्नु हुँदैन, यो पार्टीकै राम्रोका लागि बनेको समीकरण हो ।’

यो समीकरणको पहिलो डिमान्ड भनेको अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व निसर्त दिनु पर्छ भन्ने हो । ‘सरकार एकजना अध्यक्षले चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने गर्दा पार्टी सुदृढीकरणमा पनि साथ पुग्छ,’ ती नेताले भने, ‘त्यसैले यो माग राख्नु अनुचित वा नाजायज भन्ने लाग्दैन ।’

प्रचण्ड र नेपालको यो निष्कर्षमा झलनाथ खनाल र वामदेव गौतमले पनि साथ दिएका छन् । उनीहरु पनि एक व्यक्ति एक पदको पक्षमा वकालतमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार