रौतहट – बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ।
बरामद ट्याक्टर आफताव आलमका भाइ मो.महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा ब म विस्फोट भएको र घाइतेलाई ना.१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको आलममाथि आरोप छ।
प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रौतहटबाट फणि महतले लेखेका छन्।
०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत २७ गते राति बम विस्फोटका घाइते तथा मृतक बोक्न प्रयोग भएको पीडित पक्षले दाबी गर्दै आएका छन्।
प्रमाण नष्ट गर्नकै लागि ट्याक्टर बिक्री गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए।
ट्याक्टर रौतहटस्थित देवाहीगोनाही नपा–२ करुनियाटोलका उमाशंकर साहले किनेका थिए। ‘नम्बरसमेत नराखी चलाउँदै आएको ट्याक्टर बरामद भएको छ, हामी अनुसन्धान गर्दै छौँ’, डीएसपी कार्कीले भने।
आलमका भान्जा मुस्ताक राजाको राजा इँटाभट्टामा पोलिएको प्रत्यक्षदर्शी भनिएकाहरूले प्रहरीसमक्ष बयान दिएका छन्।
घटना भएको रात गहुँबारीमा लुकेर घाइते लगेको देखेको दाबी गर्ने मृतक भनिएका ओसी अख्तरका ससुरा सम्सुल मियाँले ट्याक्टरमा राखेर इँटाभट्टामा लगेको बताउँदै आएका छन्।