तीनकुने पार्कबाट दुबो र फूलका बोट नै चोरी !

२०७६ आश्विन ३०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – ठूलो चउर । वरीपरी माटोको थुप्रो । त्यही थुप्रोको छेउछेउमा रोपिएका बोटविरुवा । माटो थुपारेर बनाइएको भिरालो जमिनमा रोपिएको दुबोका चपरी ।

यो दृश्य काठमाडौंस्थित तीनकुनेको हो । गत शनिवार चीनका राष्ट्रपति सी चिङफिङको स्वागतका लागि तीनकुने क्षेत्रलाई हरियाली बनाइएको थियो ।
विमानस्थलबाट होटल सोल्टी जाँदा पर्ने बाटोमा सीको स्वागतका लागि तीनकुनेको चउरलाई सजाइएको थियो ।

तीकुनेमा रहेको रहेको ४६ रोपनी जग्गामा बुद्धपार्क बनाउने घोषणा यसअघि नै महानगरले गरेको भएपनि अहिलेसम्म त्यसको काम हुन सकेको छैन ।

मुआब्जा विवादका कारण यस क्षेत्रमा पार्क बनाउन नसक्दा विशिष्ट व्यक्तिको भ्रमणका क्रममा उक्त चउरलाई कहिले प्लेक्सले ढाक्ने गरिएको छ भने कहिले रातारात बगैंचा बनाउने काम गरिएको छ ।

सार्क, विमष्टेक र एसिया प्यासिफिक सम्मेलन जस्ता काठमाडौंमा भएका विभिन्न सम्मलेनहरुमा महानगरले तीनकुनेको फोहोर दृश्य लुकाउन लाखौं रुपैयाँ खर्च गर्ने गरेको थियो ।

यो पटक सीको राजकीय भ्रमणका लागि महानगरले तीनकुने सजाउन ३ वटा नर्सरीलाई जिम्मा दिएको थियो । नर्सरीले ४ सय प्रजातीका फूल विरुवा र दुबो राखेर तीनकुने हेर्न लायक बनाएका थिए ।

तीनकुने मात्र नभएर सरकारले सीको स्वागतका लागि सडकका दायाँवायाँ फूलका गमलाहरुपनि सजाएको थियो ।

राजकीय भ्रमण सकेर सी स्वदेश फर्किएसँगै सडकहरु पुरानै अवस्थामा देखिएका छन् । फूलका गमलाहरु उठाइएको छ ।

फूलका गमलाहरु र सहरको सौन्दर्य कायम राखेको भए हुने भन्दै कतिपयले गमला उठाउँदा सरकारको आलोचना पनि गरेका थिए ।

तीनकुने क्षेत्रमा रोपिएको फूल, रुखबिरुवा र दुबोलाई भने यथावत राखिएको थियो र त्यसको संरक्षण गर्ने महानगरले बताएको थियो ।
तर तीनकुनेमा सजाइएको दुबोका चपरा भने चोरी हुन थालेको छ ।

सरकारले सहरलाई राम्रो नबनाएको र देखावटी रुपमा पार्क बनाएको आरोपकाबीच दुबोका चपरी र फूलकाबोटहरु चोरी भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार