
सुगर किन हुन्छ ?
सुगरको प्रमुख कारण जीवनशैली नै हो। हाम्रो खानपिन ठीक छैन। मान्छेहरू अल्छी भएका छन्। तरकारी लिन जान पनि गाडी र मोटरसाइकलको प्रयोग गर्छन। मोटोपन धेरै छ। खाना समयमा नखाने र एकै पटकमा धेरै खाना खाने गरिन्छ। खाना साथै सुत्ने बानी छ। व्यायाम गर्ने चलन छैन। तनावपूर्ण जीवन शैली छ। यो बाहेक बंशाणुगत कारणले पनि सुगर हुन्छ।

लापरबाही तरिकाले बिभिन्न किसिमका औषधि प्रयोग गर्दा पनि सुगर हुन्छ। पेटको रोगी, कलेजोको रोगी, पित्तको रोगी र पेन्क्रियाजको रोगी भएको मानिसलाई हुन्छ। रक्सी धेरै पिउनेलाई सुगरको खतरा हुन्छ। सबैभन्दा ठूलो कारण जीवन शैली नै हो। खाना धेरै खाने तर व्यायाम नगर्ने गर्दा सुगरको खतरा बढी हुन्छ।
सुगरका लक्षणहरू
सुगर भएको लक्षण देखिन्छ भन्ने छैन। सुगरको मुख्य लक्षण भनेको मुख सुक्ने पिसाब बढी लाग्ने हुन्छ। पानी बढी प्यास लाग्ने, शरीरको तौल घट्दै जाने, यौन इच्छा कम हुँदै जाने, यौन अगंहरू चिलाउँदै जाने हुन्छ। छालाहरु सुख्खा भएर जाने हुन्छ। आँखा धमिलो हुने हुन्छ।
यी लक्षणहरू सुगर भएको आठ, दस वर्षपछि मात्रै देखिन्छ। यसको लक्षण तुरून्तै देखिन्छ भन्ने छैन। त्यसैले बेला बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ। अर्को कुरा सुगरको मात्रा मात्रै जाच्ने चलन छ। यसले मात्रै हुँदैन। यसको लागि कोलस्ट्रोल,किड्नीको परीक्षण गर्नुपर्छ। सुगरको लागि विशेष परीक्षणसमेत गर्नुपर्छ।
उपचार
सुगरको मुख्य उपचार भनेको खानपिन नै हो। जबसम्म खाने तरिका मिलाइँदैन जति औषधि खाए पनि ठीक हुँदैन। चिकित्सकको निगरानीमा बिभिन्न खालका औषधिको प्रयोग त गर्न सकिन्छ तर त्यो भन्दा महत्वपूर्ण बिरामी आफू सचेत हुनुपर्छ। आहारलाई परिवर्तन गर्नुपर्छ।
खानेकुरा मिलाएर खानुपर्छ। शरीरको तौललाई सन्तुलन गर्नुपर्छ। दिनमा तीस मिनेटदेखि पैतालीस मिनेटसम्म हिड्नुपर्छ। अथवा कुनै किसिमको व्यायाम गर्नुपर्छ। आहार, व्यवहार र विचार नबदलि जतिसुकै औषधि र सुई खोपे पनि ठीक हुँदैन।
लापरबाही गरे के हुन्छ ?
यसले बिरामीलाई तुरुन्तै दुःख दिँदैन। यसले बिस्तारै मार्छ। यसलाई म ‘साइलेन्ट किलर’ भन्न रूचाउँछु। यसले भविष्यमा आँखा नदेख्ने बनाउनसक्छ। किड्नी फेल हुनसक्छ। हृदयघात हुनसक्छ। प्यारालाइसिस हुने खतरा हुन्छ। कतिपए अवस्थामा खुट्टासमेत काट्नुपर्ने हुन्छ।
यो अवस्था एकै दिनमा पुग्ने होइन। यसका लागि बीसौ वर्ष लाग्छ। त्यसैले यसलाई लापरबाही गर्न हुँदैन। हिजो सुगर ५ सय थियो आज ३ सय छ कन्ट्रोल भयो भनिन्छ यो गलत हो। सुगर जति भए पनि त्यसले बिगार्ने उत्ती नै हो।
सुगर आचरण सुधार्ने मौका पनि हो
सुगर हुनासाथ आत्तिनु पर्ने हुँदैन। यसले जिउन सिकाउँछ। मानिसलाई अनुशासित बनाउँछ। यसलाई कन्ट्रोल गर्न सकियो भने मानिसको आयु दस–पन्ध्र वर्ष बढ्छ। सुगर भएपछि म खत्तम भए केही गर्न सक्दिनँ भनेर सोच्न हुँदैन।
रोग नभएको मान्छेले केही पनि परीक्षण गर्दैन। तर सुगर भएको मान्छेले बेलाबखत शरीरको स्वास्थ्य परीक्षण गरेको हुन्छ। जसले गर्दा उसलाई के भइरहेको छ भन्ने थाहा हुन्छ र रोगको चाडो उपचार हुन्छ। सुगरको कन्ट्रोल गर्ने औषधिले र चिकित्सकले होइन यसको कन्ट्रोल बिरामी आफैंले गर्ने हो।
जबसम्म बिरामीले चाहँदैन सुगर कन्ट्रोल हुँदैन। जतिपटक चिकित्सक कँहा धाए पनि जति औषधी खाए पनि यो कन्ट्रोल हुँदैन। यदी बिरामी स्वयम् सचेत भएन भने।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।