कमल गाउँपालिकाको प्रमुख स्वास्थ्य केन्द्र कमल–२ को कमल नगर अस्पतालले ल्होसार को सर्बजनिक बिदा भएपनि खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।
हरेक महिनाको १५ र १६ गते सञ्चालन गर्दै आएको नियमित खोप अभियानलाई अझ प्रभावकारी बनाउँन निरन्तर विदाको दिनमा पनि अभियान चलाइएको अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले बताए ।

खोप अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कमल गाउँपालिकाका अध्यक्ष एवं कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा अभियान अझ ब्यवस्थित गर्न खोजिएको उनले बताए ।
दाहालका अनुसार अबदेखि खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, सम्पर्क नम्बर, र खोपको नाम सार्वजनिक गरिनेछ ।
खोप कार्यक्रमको यस अभियानमा स्वास्थ्यकर्मी अन्जना सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका उषा दाहाल लगायतको टोली खटिएको थियो । फागुन महिनाको खोप अभियान यही मिति १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल खोप केन्द्रमा सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिको बैठकमार्फत लिइएको यो निर्णयले खोप कार्यक्रममा पारदर्शिता बढाउने अध्यक्ष राईले बताए ।
यो निर्णयले समुदायमा अस्पतालप्रति विश्वास बढाउने र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने उद्देश्य पूरा गर्ने कमल–२ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य अशोक सुब्बाको भनाइ छ ।
आगामी चैत्र १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल मा नियमित खोप सेवा प्रदान गरिने छ ।





