लोडसेडिङ नभए पनि गौरादहमा बारम्बार बत्ती जाने समस्याको कारण के हो ?

२०८२ जेष्ठ ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गौरादह र वरिपरिका क्षेत्रमा विद्युत आपूर्तिमा सुधार र विस्तारका काम तीव्र गतिमा अघि बढिरहेका छन् । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रले सेवा नियमित, सुरक्षित र भरपर्दो बनाउन विभिन्न योजना लागू गरेको छ ।
यसै क्रममा सजलसन्देश डटकमले केन्द्र प्रमुख सागर पोखरेलसँग विद्युत आपूर्तिको अवस्था, समस्या, सुधार प्रयास, आगामी योजना र स्थानीय तहसँगको सहकार्यबारे विस्तृत कुराकानी गरेको छ ।

हाल तपाईंको कार्यक्षेत्रमा विद्युत आपूर्तिको अवस्था कस्तो छ ?

हाल हाम्रो कार्यक्षेत्रमा विद्युत आपूर्ति तीनवटा सब-स्टेसन—पाडाजुङ्गी, जुरोपानी र बोलोचौक—मार्फत हुँदै आएको छ । हालसम्म करिब ४० हजार सेवाग्राहीलाई निरन्तर विद्युत सेवा प्रदान गरिरहेका छौं । जुरोपानी सब-स्टेसनको पावर ट्रान्सफर क्षमतालाई अझ सुदृढ बनाउने उद्देश्यले प्रादेशिक कार्यालयमार्फत शिलबन्दी बोलपत्र आह्वानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नियमित लोडसेडिङ नभए पनि कतिपय ठाउँमा बारम्बार बत्ती जाने गरेको गुनासो छ, यसको कारण के हो ?

यस्तो अवस्थाको मुख्य कारण प्राकृतिक र प्राविधिक पक्षसँग सम्बन्धित छन् । विशेष गरी हावाहुरी र वर्षाको समयमा पोल ढल्ने, तार चुँडिने, रुखका हाँगा तथा पातले लाइनमा असर गर्ने, चट्याङका कारण पिन पञ्चर हुने, डिस्क फुट्ने र इन्सुलेटरमा क्षति पुग्ने जस्ता कारणले विद्युत आपूर्ति अवरुद्ध हुन सक्छ ।
त्यसैगरी, कहिलेकाहीं ट्रान्सफर्मरमा चट्याङ परेर विस्फोट हुने, केबल हिटिङ, ओभरलोड, र इन्टरनेटको तारबाट आगलागी हुने जस्ता प्राविधिक समस्याले पनि आपूर्ति प्रभावित हुने गरेको छ । साथै, आपतकालीन अवस्थामा—जस्तै सेवाग्राहीको घरमा आगलागी भएमा—सुरक्षाका लागि तत्काल विद्युत सेवा बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

ट्रान्सफर्मर, पोल वा तार बिग्रिएमा मर्मत गर्न कति समय लाग्छ ? सेवा प्रवाह सुधारका लागि के योजना छन् ?

ट्रान्सफर्मरको सन्दर्भमा अहिले प्राधिकरणमा धेरै सुधार आएको छ । तर पनि, ट्रान्सफर्मरमा समस्या आएमा हामी त्यसै दिन—बेलुका ६ बजेसम्म सम्भव भएमा—मर्मत गर्ने प्रयास गर्छौं । यदि ट्रान्सफर्मर खेतको बीचमा छैन र सजिलै पुग्न सकिने स्थानमा छ भने, क्रेन र जनशक्तिको सहयोगमा भोलिपल्टसम्म मर्मत सम्भव हुन्छ । यदि सो समयमा मर्मत सम्भव भएन भने, हामी वैकल्पिक माध्यमबाट विद्युत् प्रवाहको व्यवस्था गर्छौं ।

यसपालिको हाम्रो योजनामा मर्मत सम्भारको पूर्वतयारीलाई प्राथमिकता दिएका छौं । विद्युत् प्रसारण लाइनमा पर्ने रुखका हाँगाविँगा काट्ने, सब-स्टेसनमा देखिएको क्षति मर्मत गर्ने र ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा आवश्यक सुधार गर्ने काम भइरहेको छ । कतिपय स्थानमा अर्थिङ चोरी भएको कारणले ट्रान्सफर्मरमा क्षति पुगेको पाइएकाले त्यसतर्फ पनि ध्यान दिइएको छ ।

बालबालिकाले नभेट्ने स्थानमा एमसीसीबी (MCCB) जडान गर्ने कार्यसमेत भइरहेको छ । साथै, ट्रान्सफर्मरमा आवश्यकतानुसार तेल थप्ने कार्य पनि नियमित रूपमा हुँदैछ ।
हामीसँग पर्याप्त जनशक्ति नहुँदा कतिपय अवस्थामा ग्राहकको निवेदनका आधारमा प्राथमिकता तोकी मर्मत गर्ने गरिएको छ ।

हाल कार्यान्वयनमा रहेका विद्युत विस्तार वा सुधार योजनाहरू के–के छन् ?

गौरादह र गौरीगंज क्षेत्रमा हाल विद्युत् विस्तारको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । सीता कन्स्ट्रक्सन धरानसँगको सम्झौता अनुसार, यसै महिनाभित्र ३८० वटा विद्युत् पोल गाड्ने काम सुरु हुँदैछ ।

विद्युत् तारको आपूर्तिमा केही चुनौती रहे पनि प्रदेश कार्यालयले आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएकोले कार्य एक–दुई महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
छवटा स्थानमा ट्रान्सफर्मर जडानको योजना छ र सबै स्थानमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् । अधिकांश क्षेत्रमा लाइन निर्माण सकिएको छ ।

सिँचाइ र नयाँ वस्ती विस्तारसँग सम्बन्धित विद्युत् मागहरूलाई पनि प्राथमिकताका साथ सम्बोधन गरिँदैछ । यदि विद्युत् सेवा नपुगेको ठाउँ जानकारी गराइएमा छिटो सेवा विस्तार गरिनेछ ।

स्थानीय तहसँग समन्वय गरेर सेवा विस्तारमा कसरी सहकार्य गर्दै हुनुहुन्छ ?

हाम्रो स्थानीय तहसँग राम्रो समन्वय रहेको छ । यसै महिनाभित्र ३८० वटा विद्युत् पोल गाड्ने काम सुरु हुँदैछ । करिब आधाजति पोल स्थानीय सरकारको सिफारिसका आधारमा विद्युत विस्तारका लागि प्रयोग हुनेछन । बाँकी पोलहरू भने पछाडि पारिएका वर्गहरूको बसोबास रहेका स्थानहरूमा विद्युत् सेवा विस्तार गर्न प्रयोग गरिनेछ । यसरी हामी समावेशी पहुँचलाई प्राथमिकतामा राख्दै सेवा विस्तारमा स्थानीय तहसँग सहकार्य गरिरहेका छौं ।

अन्य योजनाहरु ?

गेउरिया दक्षिणदेखि गौरीगंजसम्मको सडकमा रहेको एकल-फेज क्रसिङ्ग हटाउन टेन्डर प्रक्रिया अघि बढाइएको छ । ६ महिनाभित्र हटाइनेछ । हाम्रो ३३ केभी लाइन दमकसँग साझा भएकाले समस्या आउँथ्यो, अब एसिएन हाइवेसँग समन्वय गरेर लाइन छुट्ट्याउने काम अघि बढाइएको छ ।

हामीले सडक बत्तीमा नयाँ संरचना विकास गरेका छौं, जसको नमुना हाम्रो कार्यालयमा राखिएको छ। यो कम लागतमा प्रभावकारी हुने समाधान हो, जसले पहुँच वृद्धि र मर्मत सहज बनाउँछ । हाल गौरादह वडा नं. ३ ले हामीसँग समन्वयमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय