मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नम्बर २०६ मा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार कात्तिक १८ गते साँझ करिब ८ः४० बजे कोठामा बसेकी अन्दाजी २०/२२ बर्षिया युवतीलाई उनका साथीहरू बजार घुमेर फर्कँदा अचेत अवस्थामा देखेपछि घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जानकारी गराइएको थियो ।

सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक चूडामणि पौडेलको टोली घटनास्थल पुगेको र स्थानीय जनप्रतिनिधिको रोहवरमा ती महिलालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे पठाइएको थियो ।
सुरुमा ती महिलाको नाम डोल्मा तामाङ भनेर विवरणमा उल्लेख भए पनि पछि आफन्तले वास्तविक नाम सुस्मिता दर्जी भएको पुष्टि गरेका छन् ।
अस्पतालका अनुसार उपचारको क्रममा राति करिब १०ः३० बजे सुस्मिताको मृत्यु भएको हो । उनको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





