दमक । झापामा चर्को गर्मी बढेसँगै जनजीवन अस्तव्यस्त बनेको छ । चर्को घामसँगै तातो हावा चलेका कारण बाहिर हिंडडुलमा समस्या भएको छ । बालबालिका र बृद्धबृद्धाको दैनिकी कष्टकर बनेको छ । सडकमा मानिसहरुको आउजाउ घटेको छ भने बजार पसलहरु प्राय सुनसान बनेका छन् ।
यहाँको तापक्रम ३९ डिग्री सम्म पुगेको छ । बजारमा चर्को गर्मीको नकारात्मक प्रभाव बढ्दा व्यापार व्यवसायमा मन्दी आएको दमकका व्यवसायी नेता ज्ञाननाथ पौडेल बताउँछन् । दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष समेत रहेका व्यवसायी पौडेलका अनुसार केही इलेक्टि्रकल सामग्रीहरु र चिसो पेय पदार्थको छिटफुट कारोबार भए पनि अन्य व्यवसाय ठप्प जस्तै बनेको छ ।

बजारमा फलफुल , फ्रिज, एयर कुलर, पंखा तथा होटलहरुमा चिसो पेय पदार्थको मात्रै छिटफुट व्यापार हुँदै आएको छ ।
बसपार्क क्षेत्रमा हुने भिडभाड अहिले एकाएक घटेको यहाँका यातायात व्यवसायी तथा काउण्टरका कर्मचारीहरुले बताएका छन् । तातो हावा चलेका कारण बिद्यालयमा बिद्यार्थीहरुको उपस्थिति पनि न्यून देखिएको निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याव्सन दमक नगर अध्यक्ष नविन योगीले बताए ।
चिकित्सकहरुका अनुसार बालबालिकाहरुमा गर्मी र तातो हावा (लु) को कारण ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, रिंगटा लाग्ने समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई बाहिर घाममा हिंडडुल गराउन नहुने, छाता ओढेर मात्रै बाहिर निकाल्न, स्वास्थ्यबर्धक झोल खाने कुराहरु, फलफुल, सलाद आदि प्रशस्त खुवाउन स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
दमकस्थित दमक अस्पतालका सूचना अधिकारी तथा प्रशासन प्रमुख डा. अनुपम घिमिरे अहिले तराईका कतिपय ठाउँमा चलेको तातो हावा (लु) ले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुरयाइरहेको बताउँछन् । यसको प्रभाव स्टेप अनुसार विभिन्न खालको देखिने बताउँदै डा. घिमिरेले भने– अचानक मानिस बेहोस हुने, श्वासप्रश्वास बढ्ने मानिसको ज्यानै समेत जाने खतरा निम्तिन सक्छ । तातो हावाका कारण हिट स्टकको समस्या समेत निम्तिन सक्छ । यसले मिर्गौलामा समेत असर पुरयाउँछ ।
यसका अलावा दम, रक्तचाप र मुटुको समस्या भएका बिरामीहरुलाई तातो हावाको बढी असर पर्ने डा. घिमिरेको भनाई छ । शुरुमा मासु मात्रै दुख्ने लक्षण हुनुनै हिट स्टोकमा पुग्ने खतरा हो यसले मिर्गौला जोखिममा पार्छ– डा. घिमिरेले भने । यस्तो अवस्थामा गर्भवती र ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिइनु पर्ने र तत्काल अस्पताल पुग्नुपर्ने डा. घिमिरेले सुझाव दिए ।





