नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारको अभ्यासका लागि भएको दोश्रो निर्वाचन २०७९ वैशाख ३० अर्थात आजकै दिन भएको थियो ।
यो निर्वाचनबाट पाँच बर्षे कार्यकालका लागि नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकार गठन भएको हो । पाँच बर्षे कार्यकालका लागि जनताबाट प्रत्यक्ष रुपमा चुनिएको वर्तमान स्थानीय सरकार सञ्चालन गर्ने जनप्रतिनिधिहरुसँग प्रतिक्रिया लिएको छ ।

प्रस्तुत छ जनप्रतिनिधिहरु मध्ये झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसँग गरिएको कुराकानीमा आधारित दुई बर्षे अनुभव र उपलब्धिको सार संक्षेप –
अनुभव
स्थानीय तह चुनावको दुई बर्ष भइसकेको छ । आम कमल गाउँपालिकाबासी मतदाताहरुले ठुलो उत्साह र जोश जाँगरसाथ मलाई विश्वास गरेर गाउँपालिका अध्यक्षको जिम्मेवारी सुम्पिनु भएको हो ।
मैंले यो बिषयमा धेरै भनिरहनु पर्छ जस्तो लाग्दैन । हामी सबैलाई थाह छ मुलुक एकैसाथ दुई वटा संयन्त्रबाट चलेको छ । एउटा जनप्रतिनिधि र अर्को निजामती कर्मचारी संयन्त्र । जनताका प्रतिनिधिहरुमा जनताको काम कार्यवाही सहज रुपमा अघि बढ्नुपर्छ भन्ने आम मान्यता हो ।
यद्यपी सबै ठाउँमा यो लागू भएको छ भन्ने अवस्था छैन । ठाउँ ठाउँमा हामीले सुनेका छौं र देखेका छौं कि जनप्रतिनिधिहरु यो दुई बर्षको बीचमा कतै जानेर कतै नजानेर कानुनी फन्दामा पनि पर्नुभएको छ ।
विभिन्न किसिमका आक्षेप र मुद्धाहरुको सामना ठाउँ ठाउँमा जनप्रतिनिधिहरुले पनि र कर्मचारी साथीहरुले पनि ब्यहोरेका घटनाहरु देख्छौं । भलै अहिले सम्म हामी कमल गाउँपालिकाले त्यो अवस्था ब्यहोर्नु परेको छैन । हामीले यि सबै कुरालाई हेरेर हाम्रा काम कार्यवाहीहरु अघि बढाउनु परिरहेको छ र जिम्मेवारी पुरा गरिरहनु परेको छ ।
मलाई कमल गाउँपालिकामा अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा त्यति ठुलो चाप र दबाबको महसुस भएको छैन । किन भने मैंले यो भन्दा अघि पनि सक्रिय राजनीतिक र सामाजिक जिवनयापन गरेरै यो ठाउँमा आएको हुँ । त्यसकारण मेरा लागि यो दुई बर्षे कार्यकाल सहज रुपमै वितेको अनुभव छ ।
हाम्रो कमल गाउँपालिका शहरोन्मुख क्षेत्र पनि हो । यहाँ शहरीकरणको प्रभाव महसुस गर्न सकिन्छ । त्यसकारण हामीले यहाँ नितान्त गाउँलाई मात्रै हेरेर गाउँपालिकाको नीति, बजेट कार्यक्रमहरु ल्यायौं भने त्यो अधुरो हुने भएकाले हामीले मिश्रित प्रभावलाई ध्यानमा राखेरनै नीति कार्यक्रमहरु ल्याउने गरेका छौं ।
मेरो कार्यकालमा कमल गाउँपालिकामा केही दिर्घकालिन महत्व राख्ने कामहरु शुरु भएका छन । समग्रमा कमल गाउँपालिकामा यो दुई बर्षको अवधिमा शैक्षिक क्षेत्रका लागि महत्वपूर्ण कामको थालनी भएको छ । यसलाई सिंगो कमल गाउँपालिकाको ऐतिहासिक उपलब्धिका रुपमा लिन सकिन्छ ।
शिक्षा तर्फ
हामीले चुनावताका पनि बोलेको कुरा हो सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा हामी व्यापक सुधारका कार्यक्रमहरु अघि बढाएका छौं ।
राजनीति गर्ने थलोका रुपमा दुरुपयोग भइरहेको शैक्षिक संस्थालाई राजनीतिबाट अलग राख्नका लागि सबभन्दा पहिला हामीले बिद्यालय हाता भित्र राजनीतिक गतिबिधिहरुमा प्रतिबन्ध लगायौं ।
र सुधारको प्रयास आफैंबाट हुनुपर्छ भन्ने मान्यतासहित जनप्रतिनिधि, शिक्षक, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक बिद्यालयमै पढाउने व्यवस्था सम्बन्धिको नियम बनायौं ।
यसबारे अघिल्लो बर्षमै भएको निर्णयको स्मरण गराउँदै यो बर्ष कडाइँका साथ लागू गर्न सम्बन्धित विद्यालयहरुसँग यसको विवरण मागेका छौं । योे कार्यान्वयन नगर्ने र नगराउने सम्बन्धितमाथि आवश्यक कारवाहीमा पनि जाँदैछौं ।
हामीले कमलको शैक्षिक भविष्य उज्यालो बनाउने महाअभियानको प्रारम्भ यो महत्वपूर्ण निर्णयबाट लियौं ।
अब कमलका कुनै पनि सामुदायिक बिद्यालय भित्र राजनीतिक दलका सभा समारोह, बैठक आदी कुनै पनि क्रियाकलापहरु सञ्चालन गर्न नपाउने गरिको कानुनी व्यवस्था हामीले लागू गरेका छौं ।
बालमैत्री गाउँपालिका घोषणा जुन शैक्षिक क्षेत्रसँग पनि जोडिन्छ । हामीले यो पालिकालाई देशभरमै २३ औं बालमैत्री गाउँपालिकाका रुपमा र कोशी प्रदेशमा पहिलो गाउँपालिकाका रुपमा घोषणा गर्न सफल भयौं ।
नियमित छात्रवृत्तिका अतिरिक्त हामीले यहाँका दलित बिद्यार्थीहरुको उच्च शिक्षामा निरन्तरताका लागि दलित छात्रवृत्ति पनि वितरण गरिरहेका छौं ।
गाउँपालिका भित्रका २१ वटै सामुदायिक बिद्यालयहरुको समान बिकास गरेर लैजाने हाम्रो नीति छ ।
सामुदायिक बिद्यालयमा घुम्ती नृत्य प्रशिक्षणका लागि दुई जना नृत्य प्रशिक्षक राखेका छौं भने ट्युबेल, बिजुलीका सामान आदी बिग्रिदा आवश्यक मर्मतका लागि कर्मचारीलाई आवश्यक प्राविधिक तालिम पनि दिएका छौं ।
त्यही अनुरुप हामीले योजनाबद्ध रुपमा बिद्यालयहरुलाई स्मार्ट बिद्यालयका रुपमा अघि बढाउन पहिलो चरणमा स्कूल एरियालाई घेराबारा गरेर सुरक्षित बनाउने, सीसि क्यामेरा जडान गरेर बिद्यालयलाई सुरक्षित र बाल मैत्री कार्यान्वयन गर्ने, कक्षा कोठालाई स्मार्ट बनाउन स्मार्ट टेलिभिजन ( श्रव्यदृश्य)को व्यवस्था गर्ने, सबै बिद्यालयहरुमा एकै किसिमको रंग प्रयोग गरेर आकर्षक बनाउने, कक्षा कोठामा प्रभावकारी अध्यापनका लागि स्पीकरको व्यवस्था गर्ने, बिद्यालयमा बिद्यार्थीको आकर्षण बढाउन, समुदायको भुमिका र महत्वलाई बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।
स्वास्थ्य तर्फ
हामीले चुनाव ताका जनताका स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउने मुद्धा प्राथमिकतामा रहेको थियो । यसका लागि हामीले भनेका थियौं कि निशुल्क स्वास्थ्य बीमा कार्यक्रमसहितको कमल नगर अस्पताल सञ्चालनमा ल्यायौं ।
अब यो अस्पतालमा आधुनिक प्रविधिसहितको ल्याब सेवा पनि शुरु गर्दैछौं । कमलको भु बनोटलाई हेरेर हामीले वडा नं ६ मा बन्दै गरेको स्वास्थ्य चौकीको नयाँ भवनबाट पनि सेवा बढाएर दिनेछौं । सोही स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको रिफर बनाउन मिल्ने गरिको व्यवस्था मिलाउने योजना छ ।
हाम्रो अस्पताल र अन्य अस्पतालमा समेत सुत्केरी गराउन जाने आउने निशुल्क सेवासहित सुत्केरी पोषण सामग्री प्रदान गरिरहेका छौं ।
कृषि तर्फ
कमललाई समृद्ध बनाउन कृषिमा विशेष कार्यक्रमहरु हामीले ल्याएका छौं । पहिलो बर्ष हामीले अध्यक्षसँग कृषक कार्यक्रम ल्यायौं । किसानहरुलाई दिइने अनुदानमा नगदको शुरुवात हामीले गरेका छौं । यो बर्ष हामीले तरकारीमा आयात प्रतिस्थापन गर्दै व्यवसायिक तरकारी खेती प्रवद्र्धनका लागि १ कठ्ठा तरकारी खेती बराबर १ हजार रुपैयाँ र व्यवसायिक रुपमा तरकारी खेती गर्नेलाई क्षेत्रफलका आधारमा ५ हजारदेखि २५ हजार सम्म अनुदान दिएका छौं । धान उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई बाली धान खेती गर्नेलाई बीउमा अनुदानसँगै कृषि सम्बन्धिका विभिन्न तालिम, गोष्ठी आदी निशुल्क रुपमा सञ्चालन गरिआएका छौं ।
कृषि प्राविधिकको सहज उपलब्धताका लागि यसै बर्षदेखि पालिकाको साविक लखनपुर र तोपगाछी खण्डमा एक/एक जना कृषि प्राविधिक फिल्ड कार्यका लागि दिएका छौं । पहिला एक जनाले मात्रै सिंगै पालिका हेर्नुपर्ने अवस्थामा किसानहरुले समस्या ब्यहोर्नु परिरहेको थियो ।
कृषकहरुको माग अनुसार अग्र्यानिक कृषि उत्पादनमा जोड दिँदै कमलले आफ्नै ब्राण्डको कमल प्राङगारिक मल उत्पादन गरिरहेको छ ।
कमल झोल मलको आपूर्ति हामीले विकेन्द्रिकृत गर्दै अहिले पालिका भित्रका चार ठाउँबाट उपलब्ध गराउन शुरु गरेका छौं ।
निशुल्क रुपमा कमल झोल मल किसानले उपभोग गरिरहनु भएको छ ।
सडक तथा पूर्वाधारतर्फ
हामीले कमल गाउँपालिकाका सबै सडकलाई धुलोमुक्त बनाउने र गुणस्तरीय कालोपत्रे सडकका रुपमा बिकास गर्ने अठोटसहित योजनाहरु अघि बढाएका छौं ।
यद्यपी सिमित स्रोत साधनका कारण एकैपटक छोटो समयमा सबै ठाउँमा त्यो सम्भव भएको छैन । हामीले गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षमा दोब्बर बढी सडक कालोपत्रे गरेका छौं । पालिका भित्र १८ देखि १९ किलोमिटर किलोमिटर भन्दा धेरै सडक कालोपत्रे गर्दैछौं ।
त्यस्तै सडक ग्राभेल गत बर्षको तुलनामा यो बर्ष दोब्बर भन्दा बढी गर्दैछौं । यो बर्ष मात्रै करिब साढे ६ किलोमिटर सडक ग्राभेलको लक्ष्य भेट्ने अवस्थामा छौं । हाम्रो कार्यकाल शुरु भए यता हामीले सवा किलो मिटर लामो पक्की ड्रेन निर्माण गरेका छौं भने आवश्यकता र मागका आधारमा १९ वटा कल्भर्ट निर्माण गरेका छौं । इन्टरलक ब्लक हामीले १ हजार २ सय ६० मिटर लगाएका छौं भने बजारको आधुनिकीकरण र व्यवस्थापनका लागि पार्किङस्थल, पक्की टहरा आदि निर्माणको गतिलाई पनि अघि बढाइरहेका छौं ।
हामी प्रचारमुलक काममा भन्दा ठोस उपलब्धि हात पार्ने गरी पूर्वाधार निर्माणको क्षेत्रमा काम गरिरहेका छौं । गुणस्तरीय बिकासमा हामीले विशेष ध्यान दिएका छौं ।
सामाजिक बिकास
भौतिक र अन्य देखिने खालको बिकास मात्रै नभएर हामीले मानवीय संवेदनासँग जोडिएका र सामाजिक महत्व राख्ने मानवीय बिकासको कामलाई पनि संगसँगै अघि बढाइरहेका छौं । विभिन्न क्षेत्रका अगुवा, ज्येष्ठ र दिर्घकालिन सेवामा योगदान दिनुभएका व्यक्तित्वहरुलाई विभिन्न अवसर पारेर सम्मान गर्दै आएका छौं ।
यहाँका अपाङगता भएका नागरिकहरु, यहाँका विपन्न तथा असहाय महिला, बालबालिकाहरुको संरक्षण र उनीहरुको जिविकोपार्जनका निम्ती हामीले विभिन्न किसिमका सहायतामुलक कार्यक्रमहरु अघि बढाइरहेका छौं ।
एकल महिला, विपन्न महिलाहरुको आय आर्जनमा सघाउन ठेला व्यवसायदेखि सीपमुलक तालिम आदि पनि सञ्चालन गरिरहेका छौं ।
अन्य
हामीले कमलबासीका माग र यहाँको आवश्यकतालाई मध्यनजर गरेर जनमैत्री कार्यक्रमहरु ल्याएका छौं ।
समाजमा योगदान पुरयाउने विभिन्न क्षेत्रका अग्रजहरुलाई सम्मानदेखि सीपमुलक तालिम मार्फत आय आर्जन र उत्पादनमा जोड्ने हाम्रो नीति छ ।
कमलबासी धेरैका लागि समस्याको बिषयका रुपमा रहेको यहाँको हात्तीको समस्या, रतुवा, कमल र चाँजु खोलाको कटान र डुबानको समस्याका लागि पनि अल्पकालिन र दिर्घकालिन योजनाहरु ल्याएर अघि बढेका छौं ।
यहाँको भुमि सम्बन्धिको जटिल समस्या समाधानका लागि संघीय सरकारका तर्फबाटनै नीतिगत निर्णयहरु गरिनु आवश्यक भएकाले यो समस्यालाई हामीले सम्बन्धित विभाग र मन्त्रालयहरुमा गम्भिर रुपले पुरयाएका छौं ।
हामी हाम्रै कार्यकालमा यो समस्याको ठोस समाधान गर्ने प्रतिबद्धताप्रति दृढ छौं ।
यहाँका बाल बालिकाहरुमा रहेको कला, संगीत, खेलकुद आदि सम्बन्धिका विशेष प्रतिभाहरुको बिकास र संरक्षण गर्दै प्रतिभा उजागर गर्ने किसिमका कार्यक्रमहरुको शुरुवात पनि यो दुई बर्षको अवधिमा शुरुवात भएको छ । यहाँको महत्वपूर्ण गहनाका रुपमा रहेको आदिवासी रंगशाला निर्माणको प्रारम्भा भइसकेको सबैसामु छर्लङग छ । यसलाई पूर्णता दिने हाम्रो प्रतिबद्धतालाई पनि यहाँ दोहोरयाउन चाहन्छु ।
(अध्यक्ष राईसँगको कुराकानीमा आधारित )





