फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रअद्धारा विद्यार्थी माथि कुटपिट

२०८० चैत्र २१, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फेसबुकमा कमेन्ट गरेको निहुँमा झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफनै एक जना छात्रा विद्यार्थीलाई कुटपिट गरेका छन् ।

कमल -५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुुन् । टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारीका अनुसार फेसबुकको कमेन्ट निहुँमा प्रअ बगालेले मंगलवार दिउँसो कार्यालयमा लगेर निलडाम हुने गरि कुटपिट गरेका हुन् ।

पानीको पाईपले हिर्काउदाँ ती विद्यार्थीको दुवै खुट्टामा निलडाम देखिएको र उनलाई उपचारका लागि परिवारले दमक लगेको उनको भनाई छ । प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरि अव उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए ।

टोल विकास संस्थाका अध्यक्ष तिवारीले फेसबुककै निहुँमा विद्यार्थी माथि यस किसिमको कारवाही स्वाभाविक नभएको बताउँछन् । प्रअ बगाले मंगलमय माविमा सञ्चालित एसईइ परीक्षा केन्द्रका सुपरिटेन्डेन्ट समेत हुन् । प्रअ बगाले माथि अविलम्ब कारवाही हुनुपर्ने उनको भनाई छ ।

छात्रा विद्यार्थी बाँस्कोटामाथि कुटपीट सामाजिक सञ्जालमा आएपछि प्रअ बगालेलाई कारवाही गर्न चौतर्फी माग उठेको छ ।
कमल ५ का वडाअध्यक्ष लालवहादुर विष्टका अनुसार प्रअ वगालेद्धारा विद्यार्थी कुटपीटको घटना चौतर्फी सार्वजनिक भएपछि पालिकाको शिक्षा समितिको अहिले आकस्मिक बैठक बसिरहेको छ ।

महिना दिन अघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको यस पालिकाको उत्कृष्ठ मानिने सो विद्यालयका प्रअ बगालेको यस्तो हर्कतले सिंगो बालमैत्री अवधारणालाई लज्जित बनाएको बाल सञ्जालका अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार