झापाको दमकमा आउँदो ३० चैतमा निसन्तान दम्पतीहरुलाई मध्यनजर गर्दै उपचार तथा परामर्श शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमसहितको प्रसुती सेवा तथा स्त्री रोग सम्बन्धि उपचार सेवा दिदैं आएको दमक ७ स्थित ॐ मेची अस्पतालले निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविरलाई तेस्रो पटक निरन्तरता दिएको हो ।
भारतको सिलिगुढीस्थित न्यू लाइफ फर्टिलिटी सेन्टरसँगको सहकार्यमा भारतीय विशेषज्ञ डाक्टरहरुको सेवासहित सञ्चालन हुने एक दिवसीय सो शिविरका बारेमा अस्पतालले आज आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । शिविरमा विवाह पश्चात सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइने ऊँ मेची अस्पतालका सञ्चालक समेत रहेका डा. शंकर प्रसाद हुजदारले जानकारी दिए ।

न्यू लाइफ फर्टिलाइजर सेन्टरका मृत्युन्जय घोषले शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टर सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहितको टिमले आवश्यक सेवा प्रदान गर्ने जानकारी दिए ।
२०७६ सालमा दमकमा यस प्रकृतिको शिविर पहिलो पटक सञ्चालन गरिएको थियो । कोरोना संक्रमणका कारण दुई बर्ष हुन नसकेको सो शिविर गत बर्ष पुनः सञ्चालन गरिएको थियो ।
यसअघि दुई पटक आयोजना भएका सो शिविरमा आएका कूल करिब ५ सय जोडी मध्ये ३० जोडी थप उपचार सेवाका लागि न्यू लाइफ फर्टिलिटी सेन्टर सिलिगुढी गएका बताइएको छ ।
सो सेन्टरका बारेमा आफूले नजिकबाट जानकारी लिएको र सहकार्यमा यो सेवा सञ्चालन गरिएका कारण दमकको यो शिविरमा आउने धेरै निसन्तान दम्पतीले लाभ लिएको हुजदारले बताए ।
यसकारण हुन्छ निसन्तानको समस्या
बाँझोपना अर्थात निसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले बताउने गरेका छन । जिवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, बैदेशिक रोजगारको कारण दम्पत्तीबीच पर्याप्त सम्भोगको अभाव र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तानको समस्या बढी हुने गरेको चिकित्सक हुजदार बताउँछन ।
उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निसन्तानको समस्या देखिने गरेको छ । ति मध्ये करिब ७ प्रतिशतमा निसन्तानको समस्या अर्थात बाँझोपनाको कारणनै पत्ता लाग्न नसकिरहेको पनि हुजदार बताउँछन । स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदा हुँदै पनि सन्तान नहुने समस्या देखिन्छ , के कारण उनीहरुका सन्तान नभएका हुन भन्ने कारणनै यकिन हुन सक्दैन । यो अलि अप्ठ्यारो बिषय पनि हो ।





