
उर्लाबारी, विद्यार्थीलाई शिक्षासंगै संस्कार सिकाउने उद्देश्य बोकेको उर्लाबारीकै अग्रणि शिक्षालय मोरङ मोडल आवासीय माविले आयोजना गरेको ‘मोरङ मोडल फेयर २०८०’ भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार उर्लाबारी – ६ स्थित विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विविध कला प्रस्तुत गरेका थिए ।

विद्यार्थीले तयार गरेका खाजा सामग्री किन्न अभिभावक तथा आगन्तुकहरूको को भीड लागेको थियो । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल र खानाका स्टल समेत राखिएको थियो । यस्तै, चित्रकला र विज्ञान प्रदर्शनी, थ्रीडी शो, खानपिन परिकारहरूको स्टल सञ्चालन गर्नुका साथै स्वास्थ्य चेकजाँचको शिविर चलाएका थिए ।
शिविरमा आगन्तुकहरुको सुगर, प्रेसरलगायत जाँच गरिएको थियो । खानापनको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाइले विद्यार्थीको आत्मविश्वास जगाउने भएकाले विगत वर्षझैँ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयका कोअर्डिनेटर भुपाल काफ्लेले बताउनुभयो । विद्यार्थीहरुको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने उद्देश्यले फुड फेस्टिबल आयोजना गरिएको काफ्लेले जनाउनुभयो ।
बजारमा थुप्रै चीजहरू किनेर खाएका तर आफैले कुकिङ् गरेर अरूलाई परिकारहरू चखाउँदा बेग्लै मज्जा आउने विद्यार्थीहरूले बताए । साथै यसबाट आफूहरूले व्यापार भनेको के हो र व्यापार कसरी गर्न सकिन्छ भन्ने कुरा सिकेको उनीहरूको भनाई छ ।
उक्त फुड फेस्टिभलको संयोजन विद्यार्थीहरूले आफैले खर्च व्यहोरेर गरेको विद्यालयका प्रशासन प्रमुख तथा शिक्षक मात्रिका खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायत स्टेज प्रस्तुति पस्किएका थिए । अनौपचारिक रूपमा दिनभर सञ्चालन भएको कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीहरूको विविध कलाबाट मनोरञ्जन लिएका थिए ।
यस्तै, विद्यार्थीले सचेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक वीपी भट्टराईको लेखन तथा व्यवस्थापनमा दुई वटा नाटक प्रस्तुत गरिएको थियो । ‘तमसोमा ज्योतिर्गमय’ र सबैका लागि शिक्षा नाम दिईएको सो नाटक हेरेर दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
सो अवसरमा विद्यालयका संचालक समितिका अध्यक्ष अमृतकुमार श्रेष्ठको सभापतित्वमा पहिलो सत्रको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रमोटर सीताराम ओझाले स्वागत मन्तव्य राख्ने क्रममा पठनपाठनका साथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्ले ग्रुपदेखि स्नातकसम्म सञ्चालित मोरङ मोडलमा हाल १ हजार ५ सय ३८ जना विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल सन्जीव पौडेलले जानकारी दिनुभयो ।