कमलको पिङडाँडा आधारभूत विद्यालयमा बिद्यार्थी संख्या १३, शिक्षक ६ जना

२०८० मंसिर १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको कमल गाउँपालिका वडा नं ७ रहेको पिङडाँडा आधारभूत बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण हुन नसक्दा रित्तिदै गएको छ ।

२०४३ सालमा स्थापना भएको सो बिद्यालय भौतिक पूर्वाधार र जनशक्ति शिक्षकहरुको उपलब्ध हुँदा पनि बिद्यार्थीबिहिन बन्ने अवस्थामा पुगेको हो । बाल बिकास केन्द्र समेत सञ्चालनमा रहेको कक्षा ५ सम्मको पठनपाठन अनुमति तथा स्वीकृति पाएको बिद्यालयमा ४ जना शिक्षक, एक जना सहयोगी कार्यकर्ता (बाल शिक्षक) र एक जना कर्मचारी समेत कूल ६ जना कार्यरत छन् ।

कार्यरत शिक्षक र कर्मचारी समेत सबै महिला मात्रै रहेको यो बिद्यालयमा बिद्यार्थीको संख्या बर्षेनी घटदै गएको र चालू शैक्षिक सत्र २०८० मा कूल १३ जना मात्रै बिद्यार्थी अध्ययनरत रहेका पाइएको छ । कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले सो बिद्यालयमा बिद्यार्थी संख्या बढनै नसकेको स्वीर्कानुहुन्छ । अभिभावकहरुको चासो प्रभावकारी बन्न नसक्दा विद्यार्थी संख्या दिनानुदिन घट्दै गएको उहाँको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित शिक्षा अधिकारी समेतको टोलीले गरेको अनुगमनका क्रममा भने १३ जना मात्रै बिद्यार्थी पाइएकाले त्यहाँको बिद्यार्थी संख्या १३ नै भएको शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

बिद्यालय सञ्चालन हुनुपर्ने समयमा त्यहाँ कार्यरत महिला शिक्षकहरु नियमित बिद्यालय पुग्ने र आएका सबै कक्षाका बिद्यार्थीलाई एउटै कोठामा भेला गरेर शिक्षक बिद्यार्थी एउटै कोठामा बसेर अध्ययन अध्यापन गराउने गरेका छन् । बाल बिकास केन्द्रका देखि कक्षा ५ सम्म पढ्ने कूल १३ जना बिद्यार्थी एउटै कक्षाकोठामा बसेर अध्ययन गर्ने गर्छन् ।

बिद्यालयको अभिलेखमा भने विद्यार्थीको संख्या ३५ जना रहेको उल्लेख छ । तर दैनिक उपस्थिति हुने विद्यार्थीको संख्या चाहि एक दर्जन मात्र छ । विद्यालयकी प्रधानाध्यापक देवीमाया अधिकारीले विद्यार्थी भर्ना ३० भएपनि दैनिक हाजिरी भने अत्यन्त न्यून भएको स्वीर्कानुहुन्छ । उहाँ भन्नुहुन्छ , –‘विद्यार्थी नहुदाँ समस्या भएपनि पठनपाठन भने नियामानुसार सञ्चालन हुदैआएको छ ’

कुन कक्षामा कति बिद्यार्थी ?

बाल बिकास (नर्सरी)मा पाँच जना, एल केजीमा चार जना, कक्षा १ मा एक जना, कक्षा दुईमा छ जना, कक्षा तीनमा एक जना, कक्षा चारमा ५ जना र कक्षा पाँचमा तीन जना बिद्यार्थी छन् ।

किन बढन सकेन बिद्यार्थी संख्या ?

सो बिद्यालयबाट नजिकै रहेको अर्काे सामुदायिक बिद्यालय सिंहदेवी आधारभुत बिद्यालय बिष्णुकट्टामा बिद्यार्थीहरुको आकर्षण बढेकाले पनि पिङडाँडा विद्यालयमा बिद्यार्थी संख्या बढन नसकेको हुन सक्ने शाखा प्रमुख न्यौपानेको बुझाई छ ।
अभिभावकहरुले सामुदायिक बिद्यालयको गुणस्तरमा विश्वास नगरी वा अरुको देखासेखि गर्ने पनका कारण शहरका निजी बोर्डिङ स्कूलमा आफना छोराछोरी पठाउनाले पनि बिद्यार्थी संख्या बढन नसकेको हुन सक्ने जानकारहरुको बुझाई छ ।

समुदायका अगुवाहरुले बर्षेनी बिद्यार्थी बढाउने प्रतिबद्धता जनाउने गरेका तर बिद्यार्थी संख्या भने बढन नसकेको यथार्थलाई मध्यनजर गर्दै आगामी दिनमा त्यहाँ रहेको जनशक्तिलाई कसरी उपयोग गर्ने ? भन्ने बिषयमा शिक्षा समितिमा छलफल भएको छ ।

गाउँपालिकाका शिक्षा समिति संयोजक समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई बिद्यार्थी संख्या बढन नसकेको अवस्थामा त्यहाँ कार्यरत जनशक्तिलाई पालिका भित्रै आवश्यकता अनुसार समायोजन गर्ने प्रकृया अघि बढाइने बताउँछन । उनले भने,‘हामीले पालिकामा कार्यभार सम्हालेदेखिनै यो बिद्यालय मात्रै होइन पालिकाभरीका सबै सामुदायिक बिद्यालयहरुमा गुणस्तर बढाउने र सबै कमलबासी बालबालिकालाई गुणस्तरीय बिद्यालय शिक्षा दिने नीति अनुरुप काम गरिरहेका छौं, एकैपटकमा यो काम सम्भव छैन स्पष्ट योजना र खाका बनाएर हामी समग्र सामुदायिक बिद्यालयलाई ध्यानमा राखेर काम गरिरहेका छौं । ’

शिक्षा समितिको यस्तो निर्णय

कमल गाउँपालिकाको शिक्षा समिति बैठकले पालिका भित्र बिद्यार्थी संख्या कम भएका बिद्यालयमा कार्यरत शिक्षकहरुलाई पालिका भित्रै बिद्यार्थी संख्या धेरै र शिक्षकको संख्या कम भएका अन्य बिद्यालयहरुमा कामकाजमा खटाउने नीतिगत निर्णय लिएको छ ।

बिहिबार बसेको शिक्षा समितिको बैठकले यस्तो नीतिगत निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताए । उनका अनुसार यो पालिकामा अन्य ५० भन्दा कम बिद्यार्थी भएको एक अर्को आधारभुत बिद्यालय पनि छ भने एक सय भन्दा थोरै बिद्यार्थी भएका बिद्यालय धेरै छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय