रियाद – साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो ।
मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासीबाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए ।
हत्याराले आफ्नै भाई, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएका प्रहरी प्रवक्ताले जनाएका छन् । झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ । झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।
उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए । अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक हुनुहुन्थ्यो ।