अनुहार बिनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित

Read more…

२०७६ कार्तिक १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बीबीसी – पोर्चुगलमा नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन्। रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन।

हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका थिए।

यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ।

पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ।

डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् र बीबीसीले उनलाई प्रत्यक्ष सम्पर्क गर्न सकेको छैन।

रोड्रिगोलाई के भएको थियो ?

राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो। रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन्।

तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन्।

त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ‘फाइभ डी’ अल्ट्रासाउण्ड गराएकी थिइन्। उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो। तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए।

“कतिपय बेला बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा उनीहरूको अनुहार देखिँदैन भनेर उनले व्याख्या गरेका थिए,” रोड्रिगोकी काकीले एउटा स्थानीय सञ्चारमाध्यमलाई भनेको कुरा एएफपीले उद्धृत गरेको छ।

पछि असामान्य स्वास्थ्य अवस्थासहित रोड्रिगो जन्मिने स्पष्ट भएपछि केही घन्टामात्रै उनी बाँच्ने बताइएको थियो। तर, दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन्।

उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार