
ताप्लेजुङ – पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए ।
त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए ।

बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।
यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन ।
देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।